दोस्रो दिन : प्रकृतिको अनुपम सुन्दरता र बिग्रिएको बाटो

 

बिहान सात बजे हामीले हिमाली नास्ता खाएर दोस्रो दिनको यात्रा सुरु गर्यौं | प्राय धेरै पर्यटकहरु मर्दी ट्रेक गर्दा ६ दिनको तालिका अनुसार यात्रा गर्छन तर प्राय नेपाली पर्यटकहरुले तिन दिनको तालिका बनाएर पुरा गर्ने गर्छन | हामीले पनि तिनै दिनको तालिका बनाएका थियौं | पहिलो दिन काडेबाट मुसलबारीसम्म यात्रा सक्काएर हामीले दोश्रो दिन मुसलबारी देखि कोकर वन शिविर, हुमल कम शिविर, बादल डाडा अनि उच्च शिविरसम्मको यात्रा गर्नु थियो |

एघार बजेतिर हामी हुमल कम शिविरको एउटा पाहुना घरमा खाना खाएर, बिस्राम गरि सकेर हामी करिब साढे बाह्र बजे यात्रा पुरा गर्न लाग्यौँ | खाना खाइसकेपछिको अल्छि शरीर लिएर हामी एक उकालो पछि अर्को उकालो चड्दै गर्दा यस्तो बाटो पनि आयो कि एक पाइला अलिकति दाया बाया भयो भने ज्यान तल माथि हुन सक्थ्यो| उकालो, हिलो, बेला बेला जिस्काई रहने वर्षा तर डर भने कत्ति पनि थिएन | सायद हामीले साहसिक यात्राको बारेमा बुझेको भएर पनि होला डर भन्ने सोच र शब्दनै मनमा आएन | हुमल कम शिविर देखि उच्च शिविर पुग्न तिन घण्टा लाग्थ्यो तर अरु बेला भन्दा त्यस बेला बाटो धेरै बिग्रिएको थियो त्यसैले पनि हामी बादल डाडा नै झन्डै तिन घण्टामा पुग्यौ |

सुर्य अस्ताउनु भन्दा अगाडी नै हामीले उच्च शिविरमा पाइला राख्न सफल भयौँ | उच्च शिविरमा पुग्दा मैले स्वर्ग बाटो भेटेको अनुभव गरे | तीन हजार पाँच सय अस्सी मिटर माथि उभिएर तल पुरा बादलले ढाकेको आकाश देक्दा मैले पृथ्वी नै छोडेर मा आकाशमा भएको अनुभब गरे | हिमालिय प्रकृतिको सुन्दरताले मेरो बिरामी निको हुदै थियो | घरबाट हिड्दा मेरो बिरामी शरीर उच्च शिविर पुग्दा सयमा नब्बे प्रतिशत निको भएको मैले अनुभव गरे | मेरो मन भोलिको हिमाल छेउ पुग्दाको अनुभबको कल्पनामा हरायो | चिसो रात मस्त पानि बिहान सुर्य उदाउनु भन्दा अगाडी चार हजार दुई सय मिटर माथि  माथिल्लो दृश्य बिन्दुमा (उप्पर भिउ पोइन्टमा) सुर्य उदय हेर्न पुग्नु पर्ने थियो | गलेको शरीर अधेरी बिहानमै अगी बढ्नु थियो भने जोखिम नलिनुको अर्को कुनै उपाय थिएन | कि त यात्रा तेही बिस्राम लिएर फर्कौ भने अब जम्मा दुई चरण मात्र बाकी थियो | मुख्य आठ चरण पार गरेर आइपुग्दा अब बाकी दुई चरण पुरा नगरी फर्किनु हाम्रो यात्राको हार हुनेछ र अर्थहीन हुनेछ भनेर मैले मेरो मनलाई भोलिको लागि बलियो बनाए |

 

क्रमस :

मेरो हिमाल पदयात्रा र डा. हिमालय प्रकृति (भाग-३)